झापा, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको बताएका छन् ।
झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँग बुधबार भएको भेटघाट कार्यक्रममा यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । उनले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गरेका हुन् । उनले भने, “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।”
अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो । उनले भने, “हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो ।”







