काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताउनुभयो।
महासचिव पोखरेलले ‘मिसन ८४’अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो । मिसन ८४ मा केन्द्रित भएर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो ।
महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा भने सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गर्नुभयो।