Logo

एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ: ओली



काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को सोमवार उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘देश समृद्धि होस्, नागरिक सु:खी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताएका हुन् ।

उनले भने, ‘देश समृद्ध होस्, नागरिक समृद्ध होऊन्, यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने मेरो कुरा सुनेपछि केही मान्छेहरू यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यस कारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् ।’

ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याउनेलगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि उल्लेख गरेका थिए । उनले आफू सरकारमा नभए पनि देश र नागरिकका लागि केही न केही काम गरिरहेको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्