काठमाडौं, १७ साउन । नेकपा (एमाले) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।
एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिनु भएको हो ।
उपाध्यक्षमा गुरु बराल मनोनीत
सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ।
सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको हो ।
त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ ।
त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनीत गरेको छ । बैठकले मुख्य सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको छ ।
जसमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहनु भएको छ ।