भोजपुर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किराँतीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् ।
भोजपुरको तिवारी भन्ज्याङमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किराँतीले यस्तो बताएका हुन् ।
‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो,’ किराँतीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिल्यै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दछु ।’
गठबन्धनबाट उम्मेदवार रहेका किरातीसँग एमालेका शेरधन राई चुनावी मैदानमा उत्रिएका छन् । प्रहरीका अनुसार दिउँसो २:१० बजेको समयमा सपिङ ब्यागमा मोबाइलजस्तो देखिने शंकास्पद वस्तु विष्फोट भएको थियो ।







