Logo

‘एमालेसँग एकीकरण गर्ने कुरै छैन, भ्रममा नपरौं’



काठमाडौँ, १४ पुस । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

नेकपा एमालेसँग पार्टी एकताको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘बजार हल्लाको भ्रममा नपरौँ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ ।’ उनले भने, ‘पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर बिचार विमर्शमा छ ।’

पछिल्लो समय एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै नेकपा एकीकृत समाजवादी र एमालेबीच एकता हुनसक्ने चर्चा भइरहेको छ ।

उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने विषयमा पनि कुनै निर्णय भइनसकेको जिकिर गरेका छन् ।

‘स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्ने तयारी गर्दैछौँ । प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरिसकेको छैन, छलफल चल्दैछ।’ उनले भने, ‘तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्