काठमाडौँ, २० साउन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन् ।
पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन् ।
उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन् ।
‘नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,’ उनले भने, ‘एमालेविरुद्धमा चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीमा देखिएन । एमालेका विरुद्धमा चुनाव लड्ने मात्र होइन, नोमिनेशन गर्ने आँट भएको पार्टी पनि नेपालमा छैन । आजको यथार्थ यही हो ।’
एमाले नामको पार्टीले नेपालमा अनौठो शक्ति निर्माण गरेको उनको दाबी थियो । पौडेलले दुई वटा पार्टी र दुई प्रवृत्तिका बीचमा चुनाव भएको बताए । ‘नेपालको राजनीतिमा एमाले नामको यस्तो पार्टीको उदय भएको छ, जसको विचारसँग कुनै पार्टीको विचारको तुलना नै हुँदैन। एमालेसँग तुलना हुने कुनै पार्टी छैन‚’ उनले भनेका छन् ।







