सुनसरी, १८ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् ।
उनले असारमा बजेट आउनुअघि नै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।
सडक शिलान्यासका लागि इनरुवा पुगेका उनले काँग्रेस र एमाले मिल्ने आँकलनसहितका टीका टिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको बताएका हुन् ।
उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताएका छन् ।
उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार रहने बताए । उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।
उनले भने, ‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहनेछ । एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु । यो सरकार यही गठबन्धन ५ वर्ष रहनेछ । केन्द्रमा पनि रहनेछ र प्रदेशमा समेत रहनेछ । जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ ।’







