सिरहा, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन् । पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीसँग अपवित्र गठबन्धन गरेको आरोप लगाउँदै उनले एमाले परित्याग गरेका हुन् । सिरहाको गोलबजारमा सोमबार पत्रकार सम्मेलन रामले आफू एमालेको पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि तथा प्रदेशसभामा कुनैपनि दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि केही नेताको व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी निर्णय विरुद्ध दक्षिणपन्थी र नाकाबन्दी गर्नेहरुसँग गठबन्धन गर्नु जनता र देशविरोधी गतिविधि भएको रामले बताए ।
एमाले जनवर्गीय संगठन जातीय मुक्ति समाजको केन्द्रीय सचिवसमेत रहेका रामले भने, ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवि बनाएका केपी ओलीले उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साँठगाँठ गरेर आफ्नो वास्तविक चरित्र देखाएका छन् ।’
पार्टीको सम्पूर्ण इज्जत नै ध्वस्त पार्ने गरी गणतन्त्र विरोधी, राजसंस्था स्थापना, हिन्दू राष्ट्रको माग गर्नेहरुसँग साँठगाँठ गरेर एमालेले जनविरोधी र परिवर्तन विरोधी कार्य गरेको उनको आरोप छ । उनले भने, ‘कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनाव चिन्हमा उम्मेदवारी गराउनुले झन् पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडि बढेको हुँदा यो पार्टीमा बसिरहनुको अर्थ छैन ।’
जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामको आरोप छ । उनले भने, ‘बैठकमा कुनै प्रस्ताव मागिन्छ, नत त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराइन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटी छ । यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन ।’ उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरिरहेका छन्, जसका कारण धेरै इमान्दार नेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसुकै बेला विद्रोह हुन सक्छ ।’
उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु लगाउन सक्छन्, त्यसको म सधैं जमेर प्रतिवाद गर्न तयार छु ।’ बृहत कम्युनिष्ट एकीकरणको आवश्यकता औंल्याउने रामले आफू तत्काल कुनै राजनीतिक दलमा नजाने बताए ।







