झापा, २९ चैत । नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेका छन् । एमाले क्षेत्र नम्बर ३ समन्वय समितिका संयोजकसमेत रहेका घिमिरेले आज फेसबुकमा स्टाटस लेख्दै एमाले परित्यागको घोषणा गरेका छन् ।
तत्कालीन काँकरभिट्टा गाबिसका अध्यक्ष भइसकेका घिमिरेले पार्टीभित्र पटक पटक अन्याय सहन नसकेर उमाले परित्याग गरेको उल्लेख गरेका छन् । उनले गुटबन्दीका नाइकेहरुसँग पटक पटक अन्याय सहेर बस्नु भन्दा स्वतन्त्र जीवन जिउनु उचित हुने भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् । घिमिरेको मोवाइलमा सम्पर्क सम्पर्क हुन सकेन । स्रोतका अनुसार आज बिहान ९ बजे पत्रकार सम्मेलन गरी एमाले परित्यागको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
पञ्चायत कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय घिमिरे एमाले झापाका स्थापित नेता हुन् । उनी एमालेबाट २०४९ सालमा काँकरभिट्टा गाबिसका अध्यक्ष भएका थिए । उनले मेचीनगर नगरपालिकाको मेयर पदको उम्मेदवार हुने आकांक्षा राखेका थिए । तर, एमाले भित्रको दश बुँधे पक्षधर भएकाले आन्तरिक गुटबन्दीको शिकार भए । आन्तरिक प्रतिस्पर्धामा तीन जनाभित्र अँटाउन सकेनन् । घिमिरेको मेचीनगरमा राम्रो पकड भएका नेतामा पर्दछन् ।