Logo

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ: पोखरेल



जनकपुरधाम, १३ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् ।

उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधार विन्दु चौँथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उनले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको जन्म भएको थियो । ”

सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेकोे सचिवालय बैठक हुँदैछ । सो स्थानमा वि.सं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौँथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पु¥याउने गरी हामी अगाडि बढ्ने छौँ । अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ ।”

उनले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्