सिन्धुली, २६ मङ्सिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरुले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्प यात्रा सुरु गरेको दाबी गरेका हुन् ।
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा खुर्कोटमा मंगलबार भएको जन संवाद कार्यक्रममा उनले अरु पार्टीको सरकारले देश विनास गर्ने भएकाले जनताले एमालेको सरकार चाहेको बताए । उनले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने ठोकुवा गरेका थिए ।
‘आज संकल्प यात्राको १३ दिन हो’, उनले भने, ‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझ्दै आएका छौं । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रुपमा अध्ययन गरेका छौं । बृहत्तर योजनाहरु बनाइरहेका छौं ।’
अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरु सुन्दै र आफ्ना भनाइहरु राख्दै खुर्कोट आइपुगेको बताए । जनताबाट गरिबी हटाउने, देशमा समृद्धि ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामूलक समाज निर्माणमा प्रेरित गर्ने काम एमालेले गरिरहेको उनको भनाइ थियो ।
सिन्धुली जिल्ला प्रवेश गर्दा उत्साहपूर्ण स्वागत, सम्मान र मायाप्राप्त गरेको चर्चा गर्दै उनले त्यसले संकल्प यात्रामा हिँडेको टोलीको मनोबल उच्च बनाउन योगदान पुगेको सुनाए । एमाले अध्यक्ष ओलीले खुर्कोटमा सिन्धुलीका पत्रकार शेषराज दाहालले लेखेको चुच्चे नक्साको पुस्तक विमोचन गरेका थिए । स्थानीयले उनलाई चियाबारी-खुर्कोट सुरुङमार्ग निर्माणका लागि मागपत्र बुझाएका थिए ।







