Logo

एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी



बिर्तामोड, २१ वैशाख । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ ।

प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता,कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ ।

बुधबार वडा नम्बर १० का उत्तर भुतेनी, दक्षिण भुतेनी, सैनिक बजार, चमरधाप लोक्ताप गाउँ, ठुटेबर, फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरीएको छ । वडा नम्बर १०मा वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार रहेका छन् । यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे, दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे र खुल्लातर्फ प्रेमबहादुर पौडेल, पृथ्वीबहादुर बस्नेत रहेका छन् ।

कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १० भित्र रहेका खानेपानी,विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने बताइन् । उनले यस अघि विकरालरुपमा रहेका ठाउँमा सडक, पुल, कल्भर्ट निर्माण, गोवर ग्यास जडान, फिल्टरसहितको खानेपानीको व्यवस्थापन, फुसको छानो भएका घरहरुलाई टिन वितरण, विद्यायलको पठनपाठन सुधार तथा नयाँ भवन निर्माण, घेराबारा लगायत कृषि तथा बंगुरपालनको क्षेत्रमा उल्लेखनिय काम गरेको बताइन् ।

उम्मेदवार प्रसाईले आफु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकताका साथ वडा नम्बर १० मा रहेका अधुरो सडकलाई पुरा गर्ने र उत्तर भुतेनीको सडक कालोपत्रे गर्ने प्रतिवद्वता जनाएकी छन् । उनले वडामा रहेका अन्य विकासका कामहरुलाई टोल विकास समितिसंग समन्वय गरेर अघि बढ्ने धारणा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्