काठमाडौं, १ श्रावण । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो विषयमा आवश्यक छलफल हुने बताउनुभएको हो ।
‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भन्नुभयो ।
एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिनेबारे पनि छलफल भएको उहाले बताउनुभयो ।
‘फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला।’ भट्टराईले पत्रकारहरूसँग भन्नुभयो ।
तर भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उहाले बताउनुभयो । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ’, भट्टराईले भन्नुभयो ।
विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा आजबाट बैठक सुरु भएको छ ।
आजको सचिवालय पछि भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दै छ ।