जनकपुरधाम, २६ असोज । नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा संविधानसभा सदस्य विचारी यादव, सचिवमा मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस चयन भएका हुन् ।
अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने यादवको भनाइ छ ।
जनकपुरधाममा बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीवार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।
अहिले पदाधिकारीसहित सदस्यहरूमा मनोनयन दर्ता भइरहेको छ । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।






