काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन चलिरहेका बेला केन्द्रीय कमिटी बैठक बोलाएका छन्। यसका कारण आइतबार बिहानदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने तय भएको बन्दसत्रको समय परिवर्तन गरिएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बिहान ९ बजे भृकुटीमण्डपमै बोलाएका हुन्। केन्द्रीय कमिटी बैठक बस्ने भएपछि बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अब दिउँसो १२ः१५ बजेबाट मात्र सुरु हुनेछ।
एमाले महाधिवेशन अन्तर्गत आइतबारबाट बन्दसत्र सुरु हुँदैछ। तर, महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाइनुले आन्तरिक रूपमा नयाँ निर्णयको तयारी भइरहेको संकेत देखिएको छ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटी तथा पदाधिकारीको संख्या बढाउने विषयमा छलफल गर्न बन्दसत्र स्थगित गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
यस विषयमा पार्टी नेतृत्वबाट औपचारिक रूपमा थप विवरण भने सार्वजनिक गरिएको छैन।







