Logo

एमाले-माओवादी केन्द्र सत्ता समीकरण होला ?



काठमाडौँ, २९ मंसिर । सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । दुवै पार्टीका नेताहरू संवादमा लागेका छन् । यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे ।

पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन् । प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

एकातिर कांग्रेसको संसदीय दलको नेता नै को बन्ने भन्ने टुंगो छैन । त्यहाँ आकांक्षी पनि धेरै छन् । महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका धेरै नेता लाइनमा छन् । जोसुकै संसदीय दलको नेता भएपनि कांग्रेसले नेतृत्व छोड्ने अवस्था पनि देखिँदैन ।

गठबन्धनबाट आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भवाना क्षीण देखेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले दुवैतिर संवाद अघि बढाएका छन्, दूतहरू परिचालन गरेका छन् । निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि युवा नेताहरू विपक्षमा बस्नु पर्ने बताइरहँदा अध्यक्ष प्रचण्ड भने आफू प्रधानमन्त्री हुन लविङ गरिरहेका छन् । जसले प्रचण्डलाई प्रधानमन्त्रीको स्वीकार गर्छ उतै लाग्ने माओवादीको तत्कालीन रणनीतिमा देखिन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्