सुनसरी, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।
बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।
अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताएका हुन् ।
उनले भने, “एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।”
नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताएका छन् । उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको बताए ।







