काठमाडौं, २२ पुष । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन पनि प्रमुख एजेण्डाको रुपमा रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ । जसअनुसार मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ ।
आजको बैठकले २६ गते बस्न लागेको केन्द्रीय कमिटीमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीति पनि तय गर्ने एक नेताले जानकारी दिए ।







