Logo

एमाले सचिव भट्टराई सवार गाडी ताप्लेजुङमा तोडफोड



ताप्लेजुङ, १० मंसिर । एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ ।

ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

एमाले सचिव भट्टराई सवार गाडी तोडफोड सात/आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।

दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए । दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताएका छन् ।

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्