Logo

एमाले सचिव भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ



धनगढी, ६ मंसिर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमै पुगेर धम्की दिएको आरोपमा दुई जना समातिएका हुन् ।

भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेयले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विक रहेका छन् ।

दुवै जना अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको बताइएको छ । उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए ।

घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्