काठमाडौँ, ८ पुस । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ ।
सभामुख देवराज घिमिरेले आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।
हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख घिमिरेले गएको वैशाख १९ गते निलम्बन गरेका थिए । त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो । त्याे मुद्दामा जिल्ला अदालतले पुस ४ गते सांसद कोइरीलाई सफाइ दिएको थियो ।
अदालतले सफाइ दिएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । कोइरी गएको वर्ष भएको प्रतिनिधिसभाको चुनावमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।







