काठमाडौँ, १५ वैशाख । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर विवाद भएको छ ।
बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।
सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए ।
विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताए । उनले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । संसद्ले झुटो कुरा गर्न नहुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएका बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताएका हुन् ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए । उनले कोइरीलाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए ।
सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्रअनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाइ छ ।
सभामुखले आउँदा दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक0पटक संसद्को अवरोध खोल्न आग्रह गरेका थिए । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।