दाङ, ९ माघ । दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका-१३ दारेबोट चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा लगेपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका-२ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिएका छन् ।






