मेचीनगर, ४ वैशाख । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्षीय भेला शनिवार देशभरका चार वटा क्षेत्रमा एकैसाथ सम्पन्न भएको छ ।
जस अन्तर्गत क्षेत्र ‘क’ को चारआली जेसीजको आतिथ्यतामा चारआलीस्थित एफ सि कर्नरमा भएको भेलामा ३८ वटा शाखाको उपस्थिति रहेको चारआली जेसिजका महासचिव सुजुप सुवेदीले जानकारी दिए ।
उक्त भेलामा शाखामा नयाँ नेतृत्व प्राप्तपछिको ३ महिना पुरा भएका गतिविधि, आगामी रणनीति, एक अर्का शाखाहरुबिचको अनुभव आदानप्रदानसहित विभिन्न कार्यक्रमहरुका बारेमा छलफल भएको चारआली जेसीजका अध्यक्ष बिरबहादुर बेघा ‘विरु’ले बताए ।
निरुपित उपाध्यक्ष कुमारसिंह साँवाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य रहेका थिए ।
सो कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, उपाध्यक्ष राजिप प्रसाई, मनोज शाह, पूर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आचार्य, नेपाल जेसिजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल, पूर्व कार्यकारीणी उपाध्यक्ष विनोद बस्नेत, चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल लगायतले आ-आफना धारणा राखेका थिए ।
चारआली जेसिजका अध्यक्ष बिरबहादुर बेघाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।