Logo

एसईई परीक्षाको दुईथरी मूल्याङ्कन



काठमाडौँ, १० साउन । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ । २०७८ सालको एसईईको नतिजा यही साउन ११ भित्र नतिजा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्ज‘नबहादुर रायमाझीले अहिले रुजुको काम भइरहेको बताए ।

नतिजा सार्वजनिक भएको एकरदुई सातामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र (मार्कसिट) पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्डका उपपरीक्षा नियन्त्रक (कक्षा १०) भक्तबहादुर गोदारले प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गरिने बताए । सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ ।

एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ । परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ४.० दिइनेछ । ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३.६ दिइनेछ  । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ३.२ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २.८ दिइनेछ ।

५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २.४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २.० दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १.६ दिइनेछ । ३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यस समूहलाई कुनै पनि ग्रेड समूहमा राखिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिनेछ ।

कोभिड–१९ का कारण परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो । कोभिडका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसके पनि परीक्षा बोर्डले पछिल्लो दुई वर्ष विद्यालयको अन्तिम मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र प्रदान गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्