Logo

एसपिपीमा सहभागी नहुने निर्णयको पत्राचार किन भएन: गुरुङ



काठमाडौँ, ५ साउन । नेकपा(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी परराष्ट्रका अधिकारीले दिएको अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले परराष्ट्र मन्त्रालयका प्रवक्ताले विभिन्न पक्षसँग संवाद गरेर मात्रै अमेरिकालाई पत्राचार गर्ने भनेर दिएको वक्तव्यका बारेमा जानकारी गराउन सरकारसँग आग्रह गरेका हुन् ।

“अहिले तत्कालै अमेरिकालाई यस सम्बन्धमा पत्राचार गर्न नसकिने भनेर परराष्ट्र मन्त्रालयका प्रवक्ताले वक्तव्य दिनुभएको छ”, उनले भने, “यो मन्त्रिपरिषद्को निर्णयको विरुद्धमा भयो । सरकारको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको दायित्व हो, तर परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरेको छैन, एसपिपी सम्झौता नगर्ने सरकारको निर्णयको पत्राचार तत्काल गर्न सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउँछु ।”

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी सम्झौता नगर्ने र सोको जानकारी अमेरिकालाई गराउने निर्णय गरेको थियो । एसपिपी सम्झौता नगर्ने भने पनि अन्य विभिन्न नाम दिएर फेरि सम्झौता गर्ने तयारी भइरहेको भन्ने खबर सुनिएको उल्लेख गर्दै उनले छिटोभन्दा छिटो एसपिपी सम्झौता नगर्ने विषयसहितको पत्राचार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्