काठमाडौँ, ३ असार । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् ।
सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् ।
गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए । यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरेका छन् ।
उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपिपीसम्बन्धी समस्या समाधान भएको पनि पटकपटक दोहोर्याएका थिए ।







