
काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उनले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
“मैले भनिरहनु पर्दैन । संविधान जारी हुँदा प्रधानमन्त्री को थियो, असोज ६ गते मन्त्रीस्तरीय निर्णय गर्दा रक्षामन्त्री प्रधानमन्त्री को थियो । त्यसवेलाका सचिव अहिले त उहाँ पत्राचार गराउँदा जानकारी गराइएको थियो भन्नुहुन्छ । यस कुराको सत्य तथ्यको सम्बन्धमा तत्कालिन सेनापति राजेन्द्र क्षत्रीसँग कुरा गरे हुन्छ,” ओलीले भने, “म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् ।” उनले अहिले सरकारमा भएका पार्टीका नेताले एसपीपी जस्तो गम्भीर विषयलाई ख्यालठट्टाको विषय बनाएको टिप्पणी गरे ।
“राष्ट्रको सार्वभौमसत्तामा आँच आउने विषयमा ख्यालठट्टा गर्ने ?,” ओलीले प्रश्न गर्दै भने, “गम्भीरतापूर्वक छानविन गर्नुपर्नेमा भ्रमपूर्ण प्रचारवाजी गर्ने ?” उनले प्रधानमन्त्रीलाई यसबारे सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरे । उनले सरकारले एसपीपीमा सहभागि नहुने विषयमा पत्राचार गरेको भन्दै प्रचार भएको भन्दै कुन मितिमा कुन संयन्त्रबाट पत्र पठाएको पनि जानकारी गराउन माग गरे ।







