काठमाडौँ, ४ असार । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अघि बढेको पुष्टि भएको जिकिर गरेका छन् ।
महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताए । उनले कूटनीतिक मर्यादाविपरीत एसपीपीमा सामेल भएर नेपाली सेना पनि पहिलोपटक विवादमा तानिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार पाटन ढोकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गरे । नेपालले मुलकको हितविपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्याएका थिए ।
नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने उनले बताए ।
महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।







