
काठमाडौँ, १ असार । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रस्तावबारे सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्दै एसपीपी प्रस्तावबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गरेका हुन् ।
‘नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन । नेपाली कांग्रेस यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन।’, उनले भने, ‘प्रधानमन्त्रीले आजैको संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।’







