काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताएका छन् ।
मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशङ्का गरेको उल्लेख गर्दै एसपीपीको दफा र घटनाक्रमले पनि त्यतै सङ्केत गरेको बताए ।
सांसद रावलले भने, ‘एसपीपी सम्झौता गरिए परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । नेपाल असंलग्न स्वतन्त्र परराष्ट्र नीतिमा आबद्ध देश हो । हामी चीन र भारतजस्ता विशाल देशको संवेदनशील भू-राजनीतिमा छौँ । एसपीपी सम्झौता नेपालजस्तो देशका लागि अत्यन्त गम्भीर विषय छ । यदि यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने सङ्केत गर्छ ।’
उनले यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पुर्याउने यस्तो कुरा कदापि स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन् ।







