Logo

एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ



काठमाडौँ, ११ मंसिर । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष दिवाकर घले, सचिव पारस खड्कालगायतले खेलाडीको बिदाइ गर्नुभयो । एसिया कपमा लागि क्यानले यसअघि नै हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ ।

अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार हुनुहुन्छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहनुभएको छ ।

मुख्य प्रशिक्षक गौचनले टोलीले प्रयाप्त तयारी गरेकोले लक्ष्य उपाधि भएको बताउनुभयो । ‘‘कर्नाटकसँग पाँच खेलको अभ्यास सिरिजले पनि खेलाडीको मनोबल उच्च रहेको छ । समग्रमा ब्यालेन्स टिम रहेकोले राम्रो गर्नेछौँ,’ गौचनले भन्नुभयो ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ । नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्