Logo

एसीसी यू-१९ प्रिमियर कप: सानदार जितसँगै नेपाल फाइनलमा



मलेसिया, ४ कात्तिक । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।

नेपालले जापानलाई १ सय ४३ रनले हराएको हो । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भएको हो ।

जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३-३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिएका थिए ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । नेपालका दीपक बोहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाएका थिए ।

फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्ने पक्का भएको छ । यस्तै अर्को सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेको यूएईले पनि यू-१९ एसिया कप खेल्ने पक्का भएको छ ।

यू-१९ एसिया कपमा पुग्ने तेस्रो टोलीको टुङ्गो जापान र सिङ्गापुरबीचको खेलको विजेताबाट लाग्नेछ । यो खेलको विजेताले शीर्ष ३ मा पर्दै यू-१९ एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्