Logo

ओखलढुङ्गामा मगर दम्पतीको विभत्स हत्या, धारिलो हतियार प्रयोग गरिएको आशंका



ओखलढुङ्गा, १५ पुष ।  चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पती मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति विभत्स ढंगले हत्या गरिएको प्रारम्भिक आशंका गरिएको छ।

बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीहरूले ढोका ठटाउँदा प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गरेका थिए। त्यही क्रममा दुवै जनाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। घटनास्थलको अवस्था हेर्दा दम्पतीमाथि धारिलो हतियारले प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।

थप प्रमाण संकलन र विश्लेषणका लागि कोशी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा, धरानबाट तालिमप्राप्त कुकुरसमेत मगाइिएको निरीक्षक भट्टराईले बताए। उनका अनुसार हत्या कसले र किन गर्‍यो भन्ने विषयमा सबै सम्भावित कोणबाट छानबिन अघि बढाइएको छ।

घटनापछि भदौरे क्षेत्र शोक र त्रासको वातावरणमा छ। यसअघि पनि सोही जिल्लाको सिद्धिचरण नगरपालिका–४, चार्खुमा ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्कीको घरमै हत्या भएको थियो। उक्त प्रकरणमा पनि अपराधी अहिलेसम्म फेला नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्