Logo

नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज



काठमाडौं, ६ मंसिर । ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ ।

टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य ४० औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि आकाशले नटआउट ८९ रन जोडे ।

आकाश र मयनले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । अर्जुन कुमालले पुनस् एकपटक राम्रो सुरुवात पाएपनि ठूलो स्कोर बनाउन सकेनन् । कर्नाटकका लागि प्रणव अश्वथले २ तथा तेजसले १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो । टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे । अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए ।

त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । इनिङको दोस्रो बलमै प्रतिकलाई नेपालका कप्तान हेमन्त धामीले बोल्ड गरेका थिए । त्यसपछि ऋषभ पाँचौ ओभरमा हेमन्तको एलबीडब्लु शिकार बने ।

गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए । त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २(२ विकेट लिए ।

सिरिज २/२ को अवस्थामा रहेकोले आजको खेल जित्नेले सिरिज पनि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्