Logo

ओमानमा सिकेको तरकारी खेतीको शीप स्वदेशमा प्रयोग



मोरङ, २१ पुस । वैदेशि रोजगारीको शिलसिलामा सिकेको शीप मोरङको केरावारी गाउँपालिका वडा नम्बर ३ का गोविन्द श्रेष्ठले स्वदेशमा प्रयोग गरेका छन् । साउदीअरब र ओमानमा साढे नौ वर्ष बिताएका श्रेष्ठ अहिले केराबारीका ब्यावसायिक तरकारी कृषक बनेका छन् ।

उनी गाउँपालिकाको कृषि तथा सहकारी शाखाले गरेको सहयोगबाट उत्साहित भएका छन् । उनले ओमानमा ब्यवसायिक कृषि फर्ममा काम गर्दा सिकेको शीप र अनुभव अहिले स्वदेशमा प्रयोग गरिरहेका छन् ।

उत्तरी मोरङको केरावारी भौगोलिक विविधतापूर्ण गाउँपालिका हो । थोरै तराई र अधिकांश पहाडी इलाकामा समेटिएको गाउँपालिका भित्र कृषिका अनेकौँ संभावना देखिएको छ । केराबारीमा तराईको कृषि उपजदेखि उच्च पहाडी क्षेत्रको जडिवुटीसम्म उत्पादन हुने गर्दछ ।

गाउँपालिकाले कृषि संभावनाको पहिचान गरी ब्यवसायिक कृषकलाई सहयोग गर्दै आएको छ । गाउँपालिकाले प्लाष्टिक पोखरी, थोपा सिंचाई, टनेल निर्माण, आधुनिक मेसिन उपकरणदेखि मल, विउ जस्ता क्षेत्रमा किसानलाई सहयोग गर्दै आएको छ ।

गाउँपालिकाका कार्यक्रमबाट कृषक लाभान्वित भएका छन् । कृषकको उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएर कृषिकर्ममा लाग्ने युवालाई पनि सहयोग गर्ने नीति बनाएको छ । विदेशबाट फर्किएका वडा नंम्बर ३ फुलवारी चोकका श्रेष्ठ अहिले ब्यवसायिक कृषक बनेका छन् ।

श्रेष्ठले देशमा रेमिट्यान्स मात्र भित्रियाएनन्, कृषिका आधुनिक सँगै नविनतम् प्रविधिको ज्ञान अहिले स्वदेशमा प्रयोग गरेका छन् । विदेशबाट फर्कँदा उनले ल्याएका विउ कृषि उत्पादनमा प्रयोग गरिरहेका छन् ।

सुरुमा ब्यवसायिक वंगुर फार्म सञ्चालन गरेका श्रेष्ठले नराम्रो नोक्सानी व्यहोर्नु पर्यो । त्यसपछि उनी विचलित नभइ ब्यवसायिक तरकारी खेतिमा होमिए । उनलाई श्रीमती र परिवारले साथदिएको बताउँछन् ।

श्रेष्ठले उत्पादन गरेको टमाटर, फुलगोभी, स्क्वास फर्सी, करेला, अकवरे खुर्सानीले भने जस्तो बजार पाउन नसकको बताए । टनेल बनाएर तरकारी खेती गरेका श्रेष्ठले थोपा सिंचाई, प्लाष्टिक पोखरी लगायतका भौतिक पूर्वाधार थप गर्दै गएका छन् ।

धेरै आम्दानी गर्न नसकेपनि दुई छोरी, एक छोरा र श्रीमतीसहित पाँच जनाको परिवारको सम्पूर्ण खर्च ब्यवसायिक तरकारी खेतीबाट चलेको वताउँछन् । जैविक विषदी र मलको प्रयोग गरी अग्र्यानिक तरकारी उत्पादन गरेपनि उचित बजार मूल्य पाउन नसकेको उनको गुनासो छ ।

उनले नेपालमा उन्नत जातका तरकारीको विउ विजन नपाइएकोमा दुःख ब्यक्त गरे । आफुले ओमनबाट आउँदा ल्याएको काँक्राको विउको उदाहरण दिदै उनी भन्छन्, “ओमनबाट ल्याएको काँक्रा एउटै हाँगामा ६ देखि ८ ओटासम्म फल्यो, खाँदा स्वादमा पनि फरक छ ।”

केरावारी गाउँपालिकाबाट थोपा सिंचाई र प्लाष्टिक पोखरीमा अनुदान पाएका श्रेष्ठसँग १० वटा प्लास्टिक टनेल छन् । केरावारी गाउँपालिका कृषि तथा सहकारी विकास शाखाका प्रमुख टेकप्रसाद वाँस्तोलाले गाउँपालिकाले कृषकको क्षमता अभिवृद्धि र अनुदानमा आधुनिक मेसिन औजार अनुदानमा वितरण गर्ने कार्यक्रम वनाएको बताए ।

उनले कृषि उपज उत्पादनको खपतको समस्या नरहेको वताउँदै भने, दीर्घकालीन बजार ब्यवस्थापनका लागि कृषि सामाग्री आपूर्ती तथा कृषि उपज संकलन केन्द्र स्थापनामा गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्