काठमाडौँ, १७ असोज । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजमा ओमानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको ओमानले १७.५ ओभरमा १०१ रन बनाएको थियो ।
ओमानका लागि जीशान मक्शुदले सर्वाधिक ३५ रन बनाए भने कप्तान अकिब इलियासले २२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ३, कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २-२ विकेट लिएका थिए ।
यस अघि नेपालले पहिला ब्याटिङ गर्दै कप्तान रोहित पौडेल ५६ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
योसँगै यस सिरिजमा नेपालले ४ खेलमा २ खेल जितेको छ । नेपालले क्यानडाविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने ओमानविरुद्धका दुवै खेल जितेको छ ।