काठमाडौँ, १६ कार्तिक । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोट खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय ४० रन बनाएर अल आउट भएको होे ।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२-१२ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक-एक विकेट लिएका थिए ।
ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।