Logo

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध



ताप्लेङजु, १३ वैशाख । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका-७ को वडाध्यक्षमा चयन गरेको थियो । वालुङ नेकपा ९एमाले०को तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए । गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए ।

प्रतिक्रिया दिनुहोस्