काठमाडौँ, ८ भाद्र । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा महासचिव भुसालले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भर्त्सना, गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको आरोप लगाएका हुन् ।
उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा, भर्त्सनामा उत्रिनेहरू आएका उल्लेख गरेका थिए । ओलीका कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको भुसालको भनाइ थियो ।
उनले भने, ‘ओली कमरेडको उदय शुरु भएपछि नेपालको राजनीतिमा घृणा, निन्दा, खुट्टा तानातान, भर्त्सना, गालीको परम्परा, संस्कृति हाबी हुँदै गयो । अहिले त ओलीजीभन्दा १० हात अघि गएर निन्दा, भर्त्सना गर्नेमा अरू नै आइपुगे । ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली वाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ । ओलीजीका कारणले नेकपा एमाले झनै सङ्कटग्रस्त बन्दैछ । सङ्कटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’







