Logo

ओलीको नयाँ पुस्ताको प्रस्तावः ‘ढाटको कुरा खाई पत्याउनु’



काठमाडौँ, २३ कात्तिक । नेकपा तीब्र आन्तरिक विवादमा फसेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न तयार भएको धारणा सार्वजनिक गरेका छन् ।

एपी वान टेलिभिजनमा शनिवार राती प्रसाराण भएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न आफु तयार भएको बताएका छन् । उनले तीस बत्तीस वर्षदेखि पार्टी नेतृत्व गरेकाले अब लोभ गर्न नहुने जिकिर गरेका छन् । साठी वर्षको आसपासको पुस्तामा नेतृत्व हस्तान्तरण गर्न आफू तयार भएको बताएका छन् ।

तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार होलान् ? नेकपा भित्रैका कतिपय नेताले ओलीको प्रस्तावलाई पत्याएका छैनन् । उनीहरुले ओलीको नयाँ तुरुप भएको प्रतिक्रिया दिएका छन् । साच्चै नयाँ पुस्तालाई नेतृत्व सुम्पने प्रतिवद्धता आएको भए, त्यो स्वागत योग्य कुरा हो तर पत्याउने अवस्था नभएको बताउँछन् ।

प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाएर पटक पटक आफ्नो पक्षमा पारे । कहिले पार्टी अध्यक्ष त कहिले प्रधानमन्त्रीको अफर दिएर उनले पार्टी भित्रका फरक मत राख्ने नेपाल प्रचण्ड पक्षलाई सन्तुलनमा राखेका छन् ।

गौतमलाई राष्ट्रियसभामा लाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने प्रस्ताव देखाएर आफ्नो पक्षमा ओलीले बनाए । बामदेव पनि हो कि क्या हो भनेर ओलीको पक्षमा लागे । तर, जब राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्री ओलीले नै भाँजो हाले तब बामदेव झस्किए ।

पार्टीको पछिल्लो विवादमा बामदेवलाई आफ्नो पक्षमा पार्ने प्रधानमन्त्री ओलीको प्रयास असफल भएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी लगाएर बामदेवलाई आफ्नो पक्षमा पार्ने प्रयास पनि गरे । तर, त्यो प्रयास पनि असफल भएपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रस्ताव ल्याएका हुन् भनेर नेकपाकै नेताले टिप्पणी गरेका छन् ।

नेपालीमा ‘ढाटको कुरा खाई पत्याउनु’ भन्ने उखान छ । अर्थात ढाटले मासुभात निम्तो दिनसक्छ तर सामान्य दात तरकारी पनि नहुन सक्छ । खाएपछि मात्र ढाटको कुरा पत्याउनु भन्ने हो । यसर्थ ओलीका ढाट कुरा जुन दिन ठोस रुपमा आउँछ त्यसदिन मात्र पत्याउन सकिने नेकपाका नेताको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्