Logo

ओलीको ‘पब्लिक डिबेट’ प्रस्तावमा बालेन शाहको अस्वीकार, झापा-५ को चुनावी मैदानमा तात्यो बहस



काठमाडौं, ११ माघ । प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै शीर्ष नेताहरूबीच सार्वजनिक बहस अर्थात् ‘पब्लिक डिबेट’ गर्ने विषयले राजनीतिक वृत्तमा नयाँ तरङ्ग सिर्जना गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले उनीसँग एउटै मञ्चमा उभिन अस्वीकार गर्दै कडा प्रतिक्रिया जनाएका छन्।

अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत देशको नेतृत्व गर्न चाहने दल र उम्मेदवारहरूबीच एजेन्डा, विगतका काम र भविष्यको मार्गचित्रबारे आमनेसामने बहस हुनु सकारात्मक हुने बताएका थिए। उनले लेखेका छन्, “देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको छ। प्रधानमन्त्रीका दाबेदार सबै पक्षलाई एउटै मञ्चमा ल्याइए म आफ्नो एजेन्डा र योजनासहित उपस्थित हुन तयार छु।”

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै झापा क्षेत्र नम्बर ५ बाट उनीसँगै चुनावी प्रतिस्पर्धामा रहेका नेता बालेन शाहले सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बहसलाई बहिष्कार गर्ने अडान व्यक्त गरेका हुन्। शाहले विगतका हिंसात्मक घटनाहरूलाई स्मरण गराउँदै गम्भीर नैतिक प्रश्न उठाएका छन्।

उनले भनेका छन्, “बालबालिकाको हत्या र हिंसात्मक इतिहासको भारी बोकेकाहरूसँग एउटै मञ्चमा उभिनु भनेको ती कार्यमा मेरो पनि सहमति रहनु जस्तै हो।” शाहको यो अभिव्यक्तिपछि झापा–५ को चुनावी माहोल थप तातिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सार्वजनिक बहसको विषयले मतदाता र दलबीच वैचारिक ध्रुवीकरण बढाएको छ। चुनावी प्रचारको यो चरणमा शीर्ष नेताहरूको बयानबाजीले निर्वाचनको दिशा र जनमत निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्