काठमाडौं, २९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी रहेको पोखरेलकले बताउनुभयो ।
एमालेका प्रमुख सचेतक महेश वर्तौलाका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनुुहुुनेछ ।
सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको र १५ जनाको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको प्रमुख सचेतक वर्तौलाले बताउनुभयो ।
ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ।
एमालेका ओलीनिकट एक नेताका अनुसार, सरकारमा सहभागी भएका दुई ठूला दलहरूका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने मोटामोटी तयारी छ।
‘९र१० सांसद बराबर एक मन्त्री बनाउने भन्नेगरी छलफल भएको छ,’ ती नेताले भने, ‘यसो हुँदा, कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति हुन्छ होला।’अन्य साना दलहरूलाई भने ४ सांसद बराबर एक मन्त्री दिनेगरी ओलीले प्रस्ताव गर्नेछन्।
अहिलेसम्म भएको सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ।
भौतिक योजना र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन।
नेपाली कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ। सिंहले भौतिक, पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए। तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए।
गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसको प्रमुख सचेतक समेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ। त्यस्तै, देउवा पत्नी समेत रहेकी आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाउने तयारी छ।
एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ।
त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्। त्यस्तै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ।
अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दैछन्। कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी बैठकमा सभापति देउवाले ओलीसँग भएको समझदारीबारे ब्रिफिङ गरेका थिए। पार्टीमा सहमति जुटाएर सकेसम्म आजै आफ्नो दलबाट मन्त्री हुनेको नाम ओलीलाई पठाउने देउवाको तयारी रहेको स्रोतको भनाइ छ।