काठमाडौँ, ४ वैशाख । सभामुखसहितका प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे ओली निवास बालकोट पुगेका हुन् ।
संसदमा अड्किएको विधेयकलगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन् । बिहान ९ बजे शीर्ष नेताबीच छलफल हुने भनिए पनि एक घण्टा ढिला प्रचण्ड र देउवा बालकोट पुगेका हुन् ।
बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
एमाले अध्यक्ष ओली तीन दिनदेखि भाइरल ज्वरोका कारण बिरामी छन् । उनी हाल निवासमै औषधि सेवन गरी आराम गरिरहेका छन् ।
ओलीको स्वास्थ्य समस्याका कारण तीन दिनयता शीर्ष नेताबीच संवाद हुन नसकेकाले आजको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।