Logo

वामदेव गाैतम एमालेमा फर्कन तयार



काठमाडौँ, २४ जेठ । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार भएका छन् ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै गौतमले बुधवार दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसकेको गौतमको सर्त छ । विगतमा आफूलाई रोक्नकै लागि त्यो प्रस्ताव ल्याइएको उनको बुझाइ छ ।

गौतमले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरेका छन् । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै उनले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको उनको भनाइ थियो ।

उनले भने, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभयो, तपाईँ आउनुपर्‍यो भन्नुभयो भने म र मसित रहेका साथीहरू त्यहाँ (एमालेमा) एकीकृत हुन जान्छौँ । उहाँ (ओली) ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

प्रतिक्रिया दिनुहोस्