काठमाडौँ, २८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारले जनताको काम गर्न नसकेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने , ‘मुद्दा लडेर र सर्वोच्च अदालतले टिको लगाइदिएर सरकार बनेको छ । अनि के काम गरुन् ।’
ओलीले अब नयाँ निर्वाचनको विकल्प नरहेको बताए । ‘त्यसैकारण हामी भन्छौँ जनतामा जानुपर्छ।’ उनले संसद् विघटनको औचित्य पुष्टि हुँदै गएको बताए ।
उनले भने, ‘संघीय संसद्ले कामै गर्न सकेन। सांसदहरूले भत्ता खानेबाहेक केही काम गरेनन्। मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के के काम गर्थ्यो बिचरा ! ’ ओलीको प्रश्न थियो । उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जान अनिवार्य भएको बताए ।
ओलीले भने, ‘ कोही कोही मानिसहरू चुनावदेखि डराएका छन्,तर यो सरकार परमादेशबाट बनेको हो। त्यसैले जनप्रतिनिधि ल्याउनैपर्छ।’