काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताको कारक भन्ने गरेको बताएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफू रहेसम्म अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरूले गर्ने गरेको सुनाएका थिए ।
उनले भने, ‘प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो ।’
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको उनको आरोप थियो । उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए ।







