बुटवल, २४ बैशाख । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको संसद बिघटनका विरुद्ध गठबन्धन भएको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीको अत्याचारपछि पाँच दलीय गठबन्धन बनेको बताए । उनले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए ।
‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’
उनले असंवैधानिक रुपमा विघटन गरिएको संसदलाई अदालतले पुनर्स्थापना गरिदिए पनि एमालेले संसद चल्न नदिएको बताए । ‘ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ रु यहाँ पनि भोलि त्यही हालत होला,’ उनले भने । नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउने बाचाका साथ आफ्नो नेतृत्वमा सरकार बनेको भन्दै उनले अहिले सरकारबाट कसैलाई डर त्रास नभएको, बोल्न तथा लेख्नका लागि सबैलाई छुट भएको बताए ।