वीरगञ्ज, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरुसँग चुनाव लड्न राजा आउनै नपर्ने बताउनु भएको छ । उहाले ठूला दलका नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्नका लागि आफूहरु नै काफी रहेको समेत बताउनुभयो । आज (शनिबार) वीरगञ्जको लालबगलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले पूर्वराजाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर दल खोलेर चुनाव लड्न सुझाव दिएका थिए ।
शीर्ष नेताहरुको उक्त सुझावको खण्डण गर्दै नेता लिङ्देनले राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था रहेको बताउनुभयो । ‘चुनाव लड्न राजा जानु पर्दैन । हामीहरू नै काफी छौं,’– उहाले भन्नुभयो ।
दलहरूले शासन गर्न थालेयता देश झन्झन संकटमा परेको दावी गरेका लिङ्देनले नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा देशमा रोजगारी नपाएर युवा विदेशिन बाध्य हुँदा देश रित्तिँदै गएको बताउनुभयो ।
उहाले सरकार असफल भएको दावी गर्दै मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने नसक्ने परिस्थिति सृजना हुन लागेको दावी गर्नुभयो ।